शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह


२०८१ फाल्गुण १५ बिहीबार १८:५३ बजे
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिएका छन् । आजदेखि ललितपुरमा आयोजित नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघको २९औं अन्तर्राष्ट्रिय सम्मेलनमा उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र समयसापेक्ष नीति निर्माण गरी शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक पर्ने बताए ।  

विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन आएको भन्दै उपप्रधानमन्त्री सिंहले मुलुकभित्रै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्दै जानु सुखद पक्ष रहेको उल्लेख गरे । शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषासम्बन्धी नीति निर्माण गरी सकारात्मक परिवर्तनका क्षेत्रमा योगदान गर्न पनि उनले संघलाई आग्रह गरे । 

‘नयाँ शैक्षिक नीतिको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास जरुरी छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै काम गर्नुपर्छ’, उपप्रधानमन्त्री सिंहले भने । 

सन् १९९२ मा स्थापना भएदेखि नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन सङ्घले निर्वाह गरेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न आग्रह पनि गरे । ललितपुरमा आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७