कुलमानको जवाफ : मलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई छैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन्। आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उनले प्रश्न समेत गरेका छन् । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
घिसिङले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको बताएका छन् । ‘मेरो नियुक्तिश्चात प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ । तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,’ उनको स्पष्टीकरणमा भनिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन्। पदबाट हटाउने विषयमा आफ्नो दोस्रो स्पष्टीकरण भन्दै कुलमानले आफूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका हुन्।
‘म नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा १७ (१) अनुसार ४ वर्षको लागि नियुक्त भएको हुँ’, उनले मन्त्रालयलाई भनेका छन्, ‘निवेदकलाई सेवाबाट हटाउनेबारे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्यासम्बन्धी ऐन २०१० को दफ १६, नेपाल सरकारको कार्यसञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची १ को क्र.सं. ३३) र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सवा शर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ को विनियम २४ अनुसार मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्छु ।’
घिसिङले आफूले गरेको कसुरबारे मन्त्रालयलाई नै थाहा नभएको मन्त्रालयकै स्पष्टीकरण मागको पत्रले देखाएको उल्लेख गरेका छन् । गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले मंगलबार मन्त्रीस्तरीय निर्णयबाट पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले आज मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन् ।