बलियो शक्ति भएकैले एमालेमाथि चौतर्फी आक्रमण : लेखराज भट्ट

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् । पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रममा नेता भट्टले मिथ्या आरोप लगाउँदै पार्टीमाथि आक्रमण भइरहेको बताए ।
मिथ्या कुराहरूको प्रतिवाद गर्न नेता–कार्यकर्ताहरूलाई निर्देशन दिंदै उनले भने, ‘सामान्य व्यक्ति वा संगठनप्रति कसैको चासो हुँदैन । एमाले सबैभन्दा ठूलो संगठन, व्यवस्थित एवं चलायमान भएकै कारण हाम्रो पार्टीलाई कसरी पछाडि पार्न सकिन्छ भनेर आक्रमण बढेको छ ।’
नेता भट्टले वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन एमाले नेता– कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमाले नेता–कार्यकर्तालाई घर घर पुग्न आग्रह गरेका थिए । ‘कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन’, सचिव भट्टले भने, ‘जनताको बीचमा एकाकार हुनुस् अनि मात्र चुनावी परिणाम राम्रो आउँछ ।’
यस्तै पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाली बजारमा नेकपा (एमाले) र सिङ्गो नेतृत्वविरुद्ध सोसल मिडियाको प्लेटफर्ममार्फत प्रहार भइरहेको बताए । उनले मिथ्या सूचना, गलत सूचना, तथ्यहीन सूचना प्रयोग गरेर एमाले पार्टी र सिङ्गो नेतृत्वविरुद्ध भइरहेको प्रहारको प्रतिवाद गर्ने सम्बन्धमा कार्यशालामा गहन छलफल हुने बताए । नेकपा एमाले प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले पार्टीलाई लाग्ने मिथ्या आरोप खण्डन गर्दै पार्टीले गरेका राम्रो तथा सकारात्मक कामको प्रचार गर्नुपर्ने बताएका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश समिति उपसचिव तथा प्रचार विभाग प्रमुख भागरथी विष्टले कार्यशालाले पार्टी गतिविधि र क्रियाकलापहरूको प्रचार प्रसारमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् । कार्यशालामा स्वागत गर्दै प्रचार विभाग उपप्रमुख मातृका तिमिल्सेनाले कार्यशालामा सिकेका विषयहरूलाई प्रयोग गर्न पनि सबैलाई आग्रह गरेका थिए। कार्यशालामा नौ वटै जिल्लाका एमाले नेता, कार्यकर्ता , प्रेस चौतारी प्रदेश तथा जिल्लाका पदाधिकारी लगायतको प्रतिनिधिमूलक सहभागिता रहेको छ । दीपेन्द्र श्रेष्ठ र भुवन केसीले प्रशिक्षण दिइरहेका छन् ।