ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति


२०८१ फाल्गुण १४ बुधबार ०८:४९ बजे

लमजुङ । शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण यहाँको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् । 

लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौंले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् ।  सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरु सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् । नवलपुर देखि ठाडो बत्ती बाल्न आएकी शान्ता बिष्टले ईशानेश्वरको महिमा सधैँ सुन्ने गरेको र यस पटक आफै आएको बताइन् । बिष्टका अनुसार उनको  बिहे भएको सात बर्ष भए पनि सन्तान नभएपछि सन्तान प्राप्ति हुन्छ भन्ने बिश्वासले दम्पत्तिसहित आएकी हुन् ।

त्यसैगरी गोरखाकी विपना थापाले आफू तेस्रो पटक ईशानेश्वर आएको बताइन् । दुई बर्ष अगाडि श्रीमानसहित यहाँ आएर ठाडो बत्ती बालेपछि  गत वर्ष छोरो जन्मिएपछि यस पटक नौं महिनाको छोरो देखाउन आएको उनले बताइन् । रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले  मेला भर्नेको संख्या वृद्धि भएको समितिले जनाएको छ । 

लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँलगायतका जिल्ला र भारतबाटसमेत यहाँ भक्तजन आएका छन् । यस वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुल्ला भजन प्रतियोगितासमेत आयोजना गरिएको छ ।  शिवरात्रिको अवसरमा आज बिहान ४ बजेदेखि मन्दिरमा दूध चढाउनेको भीड लागेको छ । पौराणिक मान्यता अनुसार श्रीस्वस्थानी व्रतकथामा महादेवले सतिदेवीको मृत शरीर लिएर हिँड्दा यस स्थानमा पुगेपछि सतिदेवीको दायाँ तिघ्रा पतन भएको मानिन्छ । यस पूण्यभूमिमा तारकेश्वर महादेव उत्पन्न भई ईशान कोणमा अवस्थित रहेको कारण ईशानेश्वर महादेव नामकरण गरिएको मान्यता छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७