पूर्व उपराष्ट्रपति पुनले भने गणतन्त्रमाथि चौतर्फी हमला हुँदैछ

गोरखा । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको बताएका छन् । बारपाक सुलिकोट गाउँपालिका–८ जराङमा जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको २९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनलाई बदनाम गर्न कोशिस भइरहेको बताए ।
‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, चिहानमा पुगेको सिनोहरु फेरि जाग्ने, जुर्मुराउने र प्राण भर्ने कोशिस गर्दैछन्, प्रजातन्त्र दिवसमा आएका वक्तव्य हेरिरहनु भएको छ, पढिराख्नु भएको छ ।’ प्रतिमागी सोच चिन्तन भएका गणतन्त्र मन नपराउने ठूला दल भित्रका प्रतिगामी सोच, प्रवृत्ति भएका तप्काले माओवादी आन्दोलनलाई कसरी बदनाम गर्न सकिन्छ भनेर आक्रमण गर्ने कोशिस गरेको उनले बताएका छन् ।
उनले भने, ‘गणतन्त्रमाथि आक्रमण गर्ने थुप्रै शक्ति जुर्मुराउन थालेका छन्, ती सबै दिवा सपना हो । खबरदार, त्यो कोशिस नगरियोस्, नेपाली जनसुमदाय प्रतिगमनको पछि लाग्न चाहँदैनन्, समाजवादमा पुग्न चाहन्छन्, संविधानले निर्दृष्ट गरेको बाटोमा अघि बढ्न चाहन्छन् ।’ लोकतान्त्रिक गणतन्त्रमार्फत अन्तिम लक्ष्य नभएको भन्दै पुनले समाजवादी लक्ष्यमा पुग्न ठूलो आँधीबेहरी, तुफानसँग जुध्नुपर्ने उनले बताए ।
समाजवादी गणतन्त्रसम्म पुग्ने लक्ष्य प्राप्तिका लागि आगामी दिनमा माओवादी पार्टी सँगै रहेर अघि बढ्ने पनि पुनले दावी गरे । पुनले सहिद र बेपत्ता योद्धाको सपना अझै पूरा नभएको बताए । ‘विरोधी शक्तिहरु त्यहाँ गएर के बोल्यो भनेर कान ठाडो पारिरहेका छन्,’ उनले भने,‘खुसी लागेको छ, आजबाट सुरु भएको सहिद सप्ताहको दुई-तीन वटा कार्यक्रममा अझै जान्छु, किनकि मेरो लक्ष्य पूरा भएको छैन, समाजवादी गणतन्त्रसम्म पुग्ने सहिदरुको सपना पूरा भएको छैन, लक्ष्य पूरा गर्न आगामी दिनमा तपाईंहरु सँगै रहन्छु, नेकपा माओवादी पार्टी सँगै रहँदै अघि बढ्ने प्रतिबद्धता गरेको छु ।’ माओवादी पार्टी जनताको घरदैलोमा पुगेर विगतमा भएको कमी कमजोरी सर्लक्कै राख्नुपर्ने उनले बताएका छन् ।