लिलावल्लभसँगै जापान गएका तीन जना जेल चलान, तीन जनालाई धरौटी माग
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापान मानव तस्करीसम्बन्धी मुद्दामा मुख्य तीन बिचौलिया जेल चलान भएका छन् । मानव तस्करी र लिखतसम्बन्धी कसूर गरेको भन्दै सोमबार दायर मुद्दामा न्यायाधीश बलराम लम्सालको इजलासले शुक्रबार थुनछेक आदेश सुनाउँदै प्रतिवादीहरुमध्ये तीन जनालाई थुनामा पठाएको हो ।
तीन जनासँग भने धरौटी मागको आदेश भएको छ । यस्तै दुई जनालाई साधारण तारेखमा रिहा गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यो मुद्दामा चार दिनदेखि ‘हेर्दाहेर्दै’मा राखेर थुनछेक बहस जारी थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जुगल रिजाल, महेश पाण्डे र वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिए ।
उनीहरु तीनैजनालाई कारागार लगिएको छ भने कञ्चन देवकोटा, दावा शेर्पा र जनक राईसँग जनही ५०-५० हजार रुपैयाँ धरौटी माग भएको बाँस्कोटाले जानकारी दिए । उनीहरु तत्कालीन मन्त्री अधिकारीसँगै नक्कली सरकारी परिचयपत्र बनाएर जापान गएकोमा त्यहाँको अध्यागमले शंकास्पद भ्रमण भन्दै फकाई दिएको थियो । त्यस्तै, पक्राउ परेका गुडी राई र नवीन राईलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ ।
उनीहरुले नक्कली सरकारी परिचयपत्र बनाएका थिए । मुद्दाका मुख्य तीन बिचौलिया रहेका गोपाल भन्ने योगराज गौतम, दिवाकरबाबु भट्टराई र विष्णु भट्टराई फरार छन् । प्रहरीले तत्कालीन मन्त्री अधिकारीलाई समेत मुद्दा चलाउन सिफारिस गरेकोमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रमाण नपुगेको भन्दै उनलाई उन्मुक्ति दिएको छ ।