रवि लामिछानेको सकियो आजको बयान, बाहिर निकाल्दा कार्यकर्ताले देख्नै पाएनन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा आज (शुक्रबार) को बयान सकिएको छ । सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुनः जारी गर्ने गरी आजलाई सकिएको हो ।
बिहान करिब साढे नौ बजेदेखि चलेको बयान अपराह्न करिब चार बजेसम्म चलेको हो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्र कट्वाल नेतृत्वमा बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लामिछानेमाथि छ ।
‘आज चार घण्टा बयान भयो, थप आइतबार लिछौं,’ स्रोतले भन्यो । बीचमा एक घण्टा खाना खान समय छुट्टाइएको थियो । लामिछानेसँग परिसरका अनुसन्धान अधिकारी डिएसपी हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन् । लामिछानेसँग बयान लिने काम करिब आधा सकिएको छ । आइतबार लामिछानेसँग थप बयान लिइनेछ । सरकारी वकिलको कार्यांलय भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार आइतबार बयान सक्ने तयारी छ ।
आजको बयानपछि रविलाई सरकारी वकिल कार्यालयको अण्डर ग्राउन्डबाट सुटुक्क बाहिर निकालिएको थियो । बाहिर रास्वपा कार्यकर्ताहरु भेला भए पनि उनीहरूले रविको अनुहार देख्न पाएनन् । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । यसअघि पूर्व डीआइजी छविलाल जोशी, कुमार रम्तेललाई काठमाडौं ल्याएर पोखरा फिर्ता गरिसकेको छ । रविलाई काठमाडौंमा बयान सकेपछि पोखरा लगिनेछ भने त्यसपछि चितवन लगिनेछ । जिल्ला अदालत चितवनबाट पनि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।