‘विश्नोई’ को नाममा धम्की दिएको आरोपमा युवक पक्राउ, दुर्गा प्रसाईंबाट परिचालित रहेको दाबी
काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन् । उनी दुर्गा प्रसाईंबाट परिचालित रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को दावी छ ।सीआईबीले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो ।
उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ । फुँयाल घ्यू व्यापारी हुन् । उनी इलामको घ्यू भारतको आसाममा लगेर बेच्ने गर्थे । उनलाई दुर्गा प्रसाईंले परिचालन गर्दै आएको दावी प्रहरीको छ ।फुयाँललाई आपराधिक लाभमा अनुसन्धानका लागि म्याद थप गर्न लागिएको छ ।सीआईबीबाट जारी विज्ञप्तीमा भनिएको छ, ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ । उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको छ ।’
फुँयालले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको खुलेको प्रहरीको दाबी छ । झापाको झापाको चारआलीबाट पक्राउ परेर काठमाडौं ल्याएका फुँयालले प्रसाईंसँग माफी नमाग ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ ।
‘नेपाली व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज गर्दै आफू विश्नोईको सदस्य हुँ भनी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान जान सक्छ,’ सीआईबीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पक्राउ परेका फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।
केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको हो ।
जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।