श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
काठमाडौं । एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले जितका लागि रनको लक्ष्य पाएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरूद्ध जितका लागि २३४ रनको लक्ष्य पाएको हो ।
नेपालले टस जितेर पहिले बलिङ गरेको खेलमा श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर २३३ रन बनाएको हो । चौंथो विकेटका लागि लाकभिन अबेसिङगे र सारुजन सानमुगानाथनले ८७ बलमा ७९ रनको साझेदारी गरेपछि श्रीलंकाले चुनौतीपुर्ण योगफल तयार पारेको हो ।
सानमुगानाथनले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ९९ बलमा २ चौका प्रहार गर्दा सन्तोष यादवको हातबाट बोल्ड आउट भए । नेपालका नरेन साउदले अन्तिम ओभरमा लगातार दुई विकेट लिर्दै श्रीलंकालाई अलआउट गराएका हुन् ।
लाक्भिन ५० रन बनाउँदा क्याच आउट भए । दिलनुथ सिगेरा र भिमाथ दिनसाराले समान २४ रन थपे । नेपालका लागि सन्तोष यादव एक्लैले चार विकेट लिए। उनले आफुनो स्पेलमा ४५ रन खर्चे । युवराज खत्रीले दुई विकेट झारे । हेमन्त धामी र नरेन साउदको नाममा समान एक विकेट रह्यो । नेपाली युवा टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।