प्रधानमन्त्री ओली आज रुपन्देही जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) रुपन्देही जाने भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह शुक्रबार हुँदैछ ।
विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २८९ विद्यार्थी शुक्रबार दीक्षित हुन लागेको विश्वविद्यालयका उपकुलपति प्राडासुवर्णलाल बज्राचार्यले जानकारी दिए । बज्राचार्यका अनुसार स्नाकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन्। स्नाकोत्तर तह उतीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुनेछन् ।
दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिने छ । यस्तै बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ । विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यका अनुसार विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्न लागेको हो ।
समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुनेछन् । विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।