विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान : विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा परिवर्तन भए पनि क्रान्ति अधुरो भएको बताएका छन् । आज (शनिबार) पार्टीको ११औं ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताए ।
उनले भने, ‘हामी लडेर आएका हौँ । सबैलाई थहा छ । हामी कम्युनिष्टहरु, सच्चा लोकतन्त्रवादीहरु र देशभक्तहरु हौ । हामीसँग देशलाई माया गर्ने मान्छेहरु थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाति, विद्यार्थीहरुको पक्षमा लड्ने हामी नै हो । लडेर इतिहास निर्माण गरेका हौँ । ०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौँ। तर ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो ।’
यस्तै, उनले नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र राज्यको कल्पना गरेको थियो त्यो पनि पूरा नभएको बताए । उनले भने, ‘नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र जनताको राज्यको कल्पना गरिएको थियो । त्यस्तो राज्य जनताको बन्न सकेन । नेपाली जनताको व्यवस्था, कानून बन्न सकेन । नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो । त्यसपछि नेकपा पार्टी बनेको हो । राज्य जनताको बनेन दलाल, भ्रष्टहरुको हातमा गयो । यो पार्टी बन्नु नै एउटा नयाँ क्रान्तिको सुरुवात हो ।’ नेपालमा भ्रष्टचारको आतंक छाएको पनि उनको भनाइ थियो ।
महासचिव विप्लवले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले सरकार बनाउनका लागि चुनावमा जनता सहभागी भए पनि नेताहरूले विदेशीको इशारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताए ।
नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरूको व्याख्या जनतामाथिको धोका भएको उनले बताए । त्यस्तै विप्लवले अहिलेको मुलुकको अवस्था अस्तव्यस्त रहेको र सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्रै रहेको उल्लेख गर्दै विप्लवले अहिलेको सरकार रातको १२ बजे ढल्न सक्ने आभास जनतालाई भएको बताए । अहिले भ्रष्टहरूले नै सडकमा नारा लगाउने काम गरिरहेको र आफूले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरेको उनले बताए । त्यस्तै उनले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको उल्लेख गरे ।