बोरामा बाँधेर नहरमा फालिएको अवस्थामा किशोरीको शव फेला
धनुषा । धनुषाको कमला नगरपालिका–२ र जनकनन्दनी गाउँपालिका–४ को बीचमा पर्ने नहरमा एक किशोरीको शव भेटिएको छ । नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा अन्दाजी १८ वर्षीया किशोरीको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव भेटिएको जानकारी दिएको छ ।
धान काट्न गएका किसानले नहरमा शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर शव बाहिर निकालेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान थालेको छ । किशोरीको अहिलेसम्म पहिचान भइसकेको छैन ।