कोशीका मुख्यमन्त्री कार्कीको झापा निवासमा शंकास्पद वस्तु फेला
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शङ्कास्पद बस्तु भेटिएको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनि फेला परेको बताइएको छ । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ ।
हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको बताइएको छ । उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर गएका थिए । घर नजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिएका छन् ।