नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामका रुपमा प्रगाढ रहँदै आएको बताएका छन् ।
बागबजारस्थित काठमाडाै मोडेल कलेजमा आज भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४ः ग्लोबलाइजेशन एन्ड सोसियो–इकोनोमिक डेभलोपमेन्ट’ कार्यक्रममा मन्त्री गुरुङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुनसके दुवै देशबीचको ज्ञान सीप तथा कला कौशल आदानप्रदानमा सहज हुने बताए ।
‘दिगो विकासका लागि दुवै मुलुक सहकार्य गरेर अघि बढ्दै आएका छौं’, मन्त्री गुरुङले भने । समिटले बौद्धिक र शैक्षिक बसह सिर्जना गर्ने तथा कुशल शैक्षिक नेतृत्व निर्माण गर्न सघाउ पुग्ने उनले धारणा राखे । कार्यक्रममा मन्त्री गुरुङले हौसलास्वरुप विभिन्न शैक्षिक विधाका अब्बल व्यक्तित्वलाई पुरस्कार प्रदान गरेका थिए । ग्लोबल लिड्र्स फाउन्डेशनको प्रमुख आयोजना र काठमाडाै मोडेल कलेजको सह–आयोजनामा उक्त समिट सम्पन्न भएको हो । फाउन्डेशनका प्रिन्सिपल रमेश त्रिपाठीले शैक्षिक क्षेत्रमा बहस गर्न समिट आयोजना गरिएको बताए ।