बुटवल लैजानुअघि रवि लामिछानेलाई भेट्न हिरासत पुगे डीपी र स्वर्णिम
काठमाडौं । प्रहरी हिरासतमा रहेका आफ्ना पार्टी सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पोखरा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खरै उनीहरू भेट्न पुगेको रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले जानकारी दिएकी छिन् । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका सभापति लामिछानेलाई अदालतले हिजो (आइतबार) १० दिनको म्याद थप गरेको छ ।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । लामिछानेलाई भोलि (मंगलबार) बुटवल लगिने तयारी छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो । सभापति लामिछानेलाई बुटवल लैजानुअघि भेट्न दुई उपसभापति पोखरा पुगेका हुन् ।
यता अर्यालले रविसँगको भेटपछि दोस्रो चरणको आन्दोलनबारे निर्णय हुने बताएका छन् । ‘उहाँको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बसेर आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल गर्छौ,’ अर्यालले भने, ‘अहिले पोखरामा प्रदर्शन छैन, धर्ना जारी छ ।’ रास्वपाले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।