ट्रम्पलाई ढिला गरी दिएको पुटिनको वधाई सन्देशमा के छ ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई ढिला गरी बधाई दिएका छन् । रुसको सरकारी समाचार एजेन्सी तासले पुटिनले ट्रम्पलाई बधाई दिएको उल्लेख गरेको हो ।
समाचारमा जनाइएअनुसार पुटिनले बिहीबार वल्दाई इन्टरनेशनल डिस्कसन क्लबको एक कार्यक्रममा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाइ दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिको चुनावमा जितका लागि उहाँ (डोनाल्ड ट्रम्प) लाई बधाई दिन्छु । मैले पहिले पनि भनेको थिएँ कि म त्यस्तो राष्ट्राध्यक्षसँग काम गर्न चाहन्छु जसमाथि अमेरिकी जनताको विश्वास छ ।’
पुटिनले ट्रम्पलाई एक सहासी व्यक्तिका रूपमा पनि टिप्पणी गरेका छन् । बीबीसीका अनुसार पुटिनले ट्रम्पको पहिलो कार्यकालमा उनलाई चौतर्फी रूपमा समस्यामा पारिएको पनि जनाएका छन् । युक्रेन युद्ध अन्त्य गर्न सक्ने दावी गर्दै आएका ट्रम्पले त्यसमा पनि ध्यान दिनुपर्ने पुटिनले उल्लेख गरेका छन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले थुप्रै पटक आफूले रुस–युक्रेन युद्ध समाप्त गर्न सक्ने दावी गर्दै आएका थिए ।
पुटिनले आफ्नो सम्बोधनका क्रममा ट्रम्पमाथि भएको आक्रमणको पनि उल्लेख गरेका छन् । त्यसबेला ट्रम्पले एक सहासी व्यक्तिको रूपमा व्यवहार गरेको उनको भनाइ छ । त्यसक्रममा पुटिनलाई सोधिएको थियो– के उनी ट्रम्पसँग कुराकानी गर्नका लागि तयार छन् ? पुटिनले यसको जवाफ ‘हो’ मा दिएका थिए । ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको दुई दिनपछि पुटिनको यो बधाई सन्देश आएको हो । एजेन्सी