होटलमा अनुगमन नगर्ने सहमति भएको छैन : मन्त्रालय


२०८१ असोज १४ सोमबार ०३:२५ बजे

काठमाडौं :  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडबाडमा होटल र रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति नभएको दाबी गरेको छ । होटेल संघ नेपाल (हान) ले आफ्ना सदस्य होटेल तथा रेस्टुरेन्टलाई ‘चाडबाडका समयमा सरकारी प्रतिनिधिहरूले अनुगमन नगर्ने’ सम्बन्धमा परिपत्र जारी गरेसँगै विभिन्न अनलाइन मिडियाहरूमा समाचार प्रकाशित भएपछि मन्त्रालयले त्यसको खण्डन गरेको हो ।

हानले ‘चाडबाडका बेला सरकारी प्रतिनिधिले होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने’ बेहोरा उल्लेख गरी आफ्ना ३ सय सदस्य होटललाई परिपत्र गरेको थियो । सोहीबारे समाचार प्रकाशित भएपछि उद्योगमन्त्री दामोदर भण्डारीको निजी सचिवालयको तर्फबाट निजी सचिव सुमन धितालले आज साँझ विज्ञप्ति जारी गरी चाडबाडका बेला होटल तथा रेस्टुरेन्टमा अनुगमन नगर्ने सहमति नगरिएको प्रष्ट पारेका छन् ।

 विज्ञप्तिमा भनिएको छ,  ‘सर्वसाधारणको हित प्रवर्द्धनसँग जोडिएको विषयमा अनुगमन तथा निरीक्षण गर्ने र गलत कार्य भए गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गर्ने गराउनेमा मन्त्रालय प्रतिबद्ध छ ।’ 

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक रेस्टुरेन्टमा अनुगमन गरी पानीमा बढी मूल्य लिएको आरोपमा ३ लाख जरिवाना तिराएको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि प्रेस विज्ञप्ति जारी गर्दै चाडबाडका समयको विशेष महत्त्वलाई ध्यानमा राखी नियमित अनुगमनलाई अझै सशक्त र प्रभावकारी बनाइएको जानकारी दिएको छ।

विभागले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘हानले गरेको उक्त परिपत्रले प्रचलित उपभोक्ता संरक्षण ऐन २०७५, औद्योगिक व्यवसायी ऐन २०७६, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ को दफा ३ (१ क) विपरीतको कार्य गर्न उक्साहट गर्ने कुत्सित मनासय राखेको देखिएको छ ।’ 

विभागले राज्यको प्रचलित कानुन बमोजिम नियमित बजार अनुगमन गर्ने कामलाई निरन्तरता दिँदै गुणस्तरीय बस्तुको उचित मूल्यमा सुलभ आपूर्ति सुनिश्चितताका लागि सधैं प्रयत्नशील रहिरहेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७