‘सिधाकुरा’ ले अदालतको अवहेलना गरेको ठहर, सम्पादकसहित तीनै जनालाई कैद (पूर्णपाठ)


२०८१ असोज १३ आइतबार २२:०३ बजे

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ । सर्वोच्चले  सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन–तीन महिना कैद सजाय सुनाएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए । त्यस्तै सिधाकुरा डटकमलाई ५ हजार जरिवाना सुनाएको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो । अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।

सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो । समाचार प्रसारणपछि झुटो भन्दै सर्वोच्चमा रिट परेको थियो । रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो ।

सर्वोच्चको पहिलो इजलाशले सिधा कुरा डटकमले प्रसारण गरेका समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो । त्यस्तै सर्वोच्चले प्रहरीलाई यसको अडियोबारे छानबिन गर्न समेत आदेश दिएको थियो । आदेशपछि गठन भएको साइबर ब्युरो प्रमुख एवं डिआइजी नविन्द अर्याल नेतृत्वको ६ सदस्यीय छानबिन समितिले समाचारमा प्रसारण भएको अडियो नै झुटो भएको निष्कर्ष निकालेको थियो । 

न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले यस मुद्दालाई जेठ ३० गते बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । यस्तै यस घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले पनि तीन जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा समेत दायर गरेको थियो । उनीहरूलाई फरार प्रतिवादी कायम गरी मुद्दा दायर भएको थियो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७