उर्जामा बाढीको विपद : ११ सय मेगावाट विद्युत उत्पादन रोकियो, साढे दुई अर्बको क्षति

सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति


२०८१ असोज १३ आइतबार २२:०७ बजे

 काठमाडौं । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए ।

उनले भने, ‘हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौं । थप क्षति भएको हुन सक्छ । बाढीका कारण झण्डै एक हजार एक सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।’

तामाकोशी नदीको कटानका कारण खिम्ती लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको त्यस अवसरमा जानकारी दिइयो । सोही प्रसारण लाइन भएर काठमाडौँका लागि बिजुली ल्याउने गरिएको छ । यस्तै दोलखा, रामेछापका विभिन्न आयोजनाको आठ सय मेगावाट बराबरको बिजुली प्रवाह गर्ने टावरसमेत जोखिममा परेका छन् ।

मन्त्री खड्काले क्षति पुगेका आयोजनाको पुनर्निर्माणका लागि तत्काल आवश्यक पहल गरिने जानकारी दिए । पहिलो चरणमा क्षतिको सम्पूर्ण विवरण सङ्कलन गर्ने, पुनर्निर्माण र पुनःस्थापना कार्यलाई विशेष ध्यान दिइनेछ । यसका लागि सरकारका सबै संयन्त्र परिचालन गर्नेछौं’ उनले भने ।

यस्तै, प्रसारण लाइनतर्फ काबेली करिडोरअन्तर्गतको दमक–गोदक एक सय ३२ केभी प्रसारण लाइन, खिम्ती लामोसाँघु एक सय ३२ केभी, सोलु करिडोरमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकानुसार बाढीपहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । सो आयोजनाको बाँधस्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ । 

यस्तै, बालुवा थिग्य्राउने पोखरीलगायतका संरचनामा क्षति पुगी  विगत तीन दिनदेखि बन्द रहेको सो आयोजनाको सम्पूर्ण विवरण सङ्कलन गर्नसमेत हालसम्म समस्या रहेको उनले बताए । ‘काबेली करिडोरमा समस्या आउँदा इलाम र पाँचथरमा बिजुली प्रवाहका लागि समस्या भएको छ । झापाबाट वैकल्पिक व्यवस्था गरेर बिजुली उपलब्ध गराउने प्रयास भइरहेकाले आज अबेरसम्म सो कार्य सम्भव हुने विश्वास छ’, कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

यस्तै, सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ । रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदारु पाँच करोड बराबर क्षति भएको अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडीलगायतको उपस्थिति रहेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७