सरकारले पूर्व तयारी गरेकैले क्षति न्यूनीकरणमा सहयोग पुग्यो : गृहमन्त्री लेखक


२०८१ असोज १३ आइतबार २०:११ बजे
फाइल फोटो

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले पूर्व तयारी गरेकैले अविरल वर्षपछिको बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुगेको बताएका छन् । विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको गृहमन्त्री लेखकले दाबी गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार दिउँसो बसेको सर्वदलीय बैठकमा गृहमन्त्री लेखकले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका थिए । गृहमन्त्री लेखकको सचिवालयका अनुसार सरकारले मनसुन सम्बन्धी पूर्वानुमानको सूचना सम्प्रेषण गरेको र त्यसअनुसार तयारी थालेको जानकारी सर्वदलीय बैठकमा दिइएको थियो ।

‘विपद न्यूनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुन्छ । एउटा विपद पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो,’ गृहमन्त्री लेखकले भने, ‘अर्को विपदको प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्यूनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’

गृहमन्त्री लेखकले सरकारले हाल चार कुरामा जोड दिएको उल्लेख गर्दै भनेका थिए, ‘पहिलो खोजी, उद्धारको विषय हो । हामीले मानिसहरूको खोजी गर्नुछ । दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नुछ । सँगसँगै राहत पनि अगाडि बढाउनु छ । घाइतेहरूको उपचार गर्नुछ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ ।’

गृहमन्त्री लेखकले सर्वदलीय बैठकमा पछिल्लो बाढी, पहिरो र डुबानबाट १४८ जनाको मुत्यु, ५९ जना बेपत्ता र ६० जना घाइते रहेको जानकारी दिएका थिए । ३,३३६ जनाको सकुसल उद्धार गरिएको पनि उनले जानकारी दिएका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्दोसम्म उद्धार र राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको गृहमन्त्रीले जानकारी दिएका थिए ।

गृहमन्त्रीले भनेका थिए, ‘उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । चाँडो उद्धार गर्नुपर्नेको उद्धार भइरहेको छ । बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, बृद्धहरूलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन गरिएको छ । जिल्लादेखि केन्द्रसम्म उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको छ ।’ ललितपुरको नख्खुमा भिजिबिलिटीका कारण हेलिकोप्टरबाट उद्धार गर्न नसकिएको विषय पनि गृहमन्त्री लेखकले सर्वदलीय बैठकमा राखेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७