यात्रुको चाप बढेपछि विमान कम्पनीले बिक्री गर्न छाडे सस्तो दरका टिकट

हवाई भाडा नियन्त्रण गर्न समितिको निर्देशन


२०८१ असोज १३ आइतबार २०:०७ बजे
विमानस्थलमा यात्रुको भीड ... त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा आइतबार यात्रुको भीड । अविरल वर्षासँगै सडकमार्ग अवरूद्ध भएपछि मुलुकका विभिन्न स्थानमा जाने यात्रुको भीड लागेको हो । तस्वीर : हरिप्रसाद बास्तोला / रासस

काठमाडौं ।  यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ । 

बाढी पहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्य राजमार्ग अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एक मात्र विकल्पका रुपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए । ‘विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ’, उनले भने । उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताए । 

वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपदमा नागरिकको यात्रालाई सहज बनाउन आफूहरु लागेको दाबी गरे । उनले भने, ‘हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरुलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ ।’ श्री एयरलाइन्सका संस्थागत प्रवन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे । ‘सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ’, उनले भने ।

काठमाडौँ–विराटनगरको एकतर्फी रु सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर रु नौ हजार नौ सय पुर्‍याएको जनाइएको छ । साथै काठमाडौँ–धनगढीको एकतर्फी भाडा रु १७ हजारसम्म निर्धारण गरिएको छ । हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ । यस्तो अवस्थामा यात्रुहरुसँग हवाई उडानको विकल्प छैन ।

काठमाडौँ भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ । काठमाडौँबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएका छन् । हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिए ।

हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय
काठमाडौं । विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो ।

 सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए । उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

हवाई भाडा महङ्गो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।
 हवाई भाडादर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि  विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ । ‘कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ’,  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । 

हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप भढेकाले हवाई भाडा बढेको हुनसक्ने उनको भनाइ छ । ‘एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ’, उनले भने । हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।
 

हवाई भाडा नियन्त्रण गर्न समितिको निर्देशन
राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले आज देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ’, निर्देशनमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’ देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७