आमासँगै अस्ताए जुम्ल्याहा दाजु–बहिनी, झ्याप्ले खोलाको पहिरोमा पुरियो बंगलादेश जाने सपना

जन्म-मृत्यु दुबै सँगै भयो दिपेश–दिपिकाको


२०८१ असोज १३ आइतबार १९:१७ बजे

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा तीन वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । एउटै पहिरोमा एउटा बस र दुईटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।  झ्याप्लेखोलाको पहिरोमा बससँगै पुरिएको अवस्थामा थप पाँच शव भेटिएका छन् ।

यो समेत आजै भेटिएका शवको संख्या २१ पुगेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

पहिरोमा पुरिएको अवस्थामा निकालिएको शवहरुमध्ये बुटवल कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत दीपेश भट्टराई र दीपिका भट्टराई पनि छन् । विद्यालयका  हरेक गतिविधिमा क्रियाशील हुने उनीहरु पढाइमा तीक्ष्ण थिए । उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

पढाइमा उत्कृष्ट उनीहरू कक्षा १० (एसईई) को तयारी थिए । यद्यपि, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले समर्थन जनायो । विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका थिए । शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा काठमाडौं जान उनीहरूले ट्राफिक चोकको काउन्टरमा पुगेर टिकट काटी गाडी चढे ।

लगातारको वर्षाले जनजीवन प्रभावित बनिरहँदा उनीहरू भने ठूलो भविष्यको सपना देख्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनीहरू सवार माइक्रो (विङ्गर) लाई धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा छोप्यो । गाडी पुरिँदा जुम्ल्याहा दाजु–बहिनी दीपेश–दीपिका, आमा सीता भट्टराई सँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाएका छन् । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको पहिचान भइसकेको छ । दीपिकाको अवस्था पहिचान भइसकेको छैन ।

मृतकहरू सबैको पहिचान खुलिनसकेको नागढुंगा प्रहरी प्रभागले जनाएको छ । शव गए राति ११ बजे नै शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । दीपेश–दीपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो । सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ । उनले भने, ‘ठूलो सपना लिएर हिँडेका थिए । हामी पनि निकै खुशी थियौं । तर, विपत्तिले लग्यो ।’

उनले होमनाथलाई गाडी पुरिएको थाहा दिइएको बताए । आइतबार बिहान ४ बजे शव फेला परेको जानकारी दिइएको र उनलाई नेपाल बोलाइएको पाण्डेयले जानकारी दिए । होमनाथको घर स्याङ्जाको गल्याङ नगरपालिका– ३ हो । उनका १५ वर्षीय छोराछोरी दीपेश र दीपिका बुटवलको कालिका माविमा पढ्दै आएका थिए । आमा सीता उनीहरूसँगै बस्थिन् । विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दीपेश र दीपिका थिए ।

विद्यालयका शैक्षिक संयोजक दीपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् । प्रहरी प्रभाग नागढुंगाका अनुसार उनीहरूसहित बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको शव निकालेर सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी सात जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन । पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु १ ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए । यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये बोम कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७