उपत्यकाका नदीले खतराको तह पार गर्‍यो, रातको समयमा यात्रा नगर्न आग्रह


२०८१ असोज ११ शुक्रबार २३:१२ बजे

काठमाडौं । बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । 

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूले भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ ।

कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ । खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका विभिन्न ३२ वटा बाढी मापन केन्द्रमा जल सतह चेतावनी तहमा पुगेको जानकारी गराएको छ । प्राधिकरणले आजै सूचना जारी गरी कुलेखानीको ड्याम भरिनसक्ने र खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले तल्लो क्षेत्रका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले कुलेखानी बाँधदेखि तलका क्षेत्र र रौतहट सर्लाहीसम्मका बागमती तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७