पार्टीमा संगठनात्मक एकता आवश्यक छ : महासचिव पोखरेल


२०८१ असोज ११ शुक्रबार २१:११ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले पार्टीमा संगठनात्मक एकता आवश्यक रहेको बताएका छन् । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला संघको चौथो बैठकमा उनले संगठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताए । 

महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी संगठनका नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राखे । उनले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्ती बस्तीसम्म लैजान आवश्यक रहेको  भनाइ थियो । 

महासचिव पोखरेलले यस वर्ष पार्टीले ४० वर्षमुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिए ।  यसैगरी उनले राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन आग्रह गरे ।

‘संविधान जारी भएको १० वर्षका सबल र दुर्बभ पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ । यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक संकट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ’, महासचिव पोखरेलले भने ।

उनले ठूला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नु पर्ने अवस्था आएको धारणा राखे । ‘पार्टी—पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नु परेको हो’, उनले भने । 

महासचिव पोखरेलले सरकारको काममा प्रभावकारी देखिन थालेको, राजस्व बढ्न सङ्कलन बढ्न थालेको, वैदेशिक लगानी र रेमिट्यान्स बढ्नु सरकारको कामको प्रभावकारिता रहेको बताए । यसले मुलुक संकटबाट मुक्त नभए पनि सुधारका संकेत देखिएको उनको भनाइ थियो ।  स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संविधान संशोधन गरेर हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतको सुनिश्चित गर्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष टुकाभद्र हमालले महिलाका अधिकारलाई संविधान संशोधनबाट थप सम्बोधन गर्नुपर्ने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७