बार अध्यक्षको आरोप : प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरे


२०८१ असोज ११ शुक्रबार २१:१८ बजे

काठमाडौं ।  नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनका आधारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाएका छन् ।

अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको न्याय परिषदको शुक्रबारको बैठकले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरे लगत्तै उनले उक्त आरोप लगाएका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश सिफारिस गरेको आरोप लगाए । उनले आफूलाई जेल चलान गर्न पनि प्रधानन्यायाधीश श्रेष्ठलाई चुनौती दिएका छन् ।

सरकार र संसदलाई पनि प्रधानन्यायाधीश श्रेष्ठको सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने गैरसंवैधानिक र गैरन्यायिक कामको साक्षी नबस्न उनले आग्रह गरे । आफू नेतृत्वमा रहेसम्म नेपाल बारले गैरसंवैधानिक र गैरन्यायायिक कुनै पनि कदमप्रति सम्झौता नगर्ने उनले बताएका छन् । 

हाल न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने काम गैरसंवैधानिक र गैरकानुनी हुने भन्दै नेपाल बारले त्यसको विरोध गर्दै आएको थियो । तर न्यायपरिषदको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई नियुक्त गर्ने सिफारिस गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७