बर्षाले १४ स्थानमा  सतर्कता तह पार, नदी तटीय क्षेत्रका बासिन्दालाई चेतावनी


२०८१ असोज ११ शुक्रबार १५:१८ बजे

कठकाठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी, बबई, मेची, नारायणी, केसलिया लगायतका १४ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले खतरा तह पार गरिसकेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ ।

सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ । यसैगरी झापाका अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।

झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ । हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टायता कोशी प्रदेशका थोरै स्थानहरूमा धरै भारी वर्षा मापन भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७