पर्यटक बढेपछि शिक्षण छाडेर होटल व्यवसाय
बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।
सानो घरमा चार कोठाबाट व्यवसाय थालेका उनले व्यवसाय बढाएका छन् । उनको होटलमा २४ कोठा छन् भने लगानी बढेर दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटल सञ्चालन गर्न थालेका छन् ।
बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् । जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउँछन् । उनले जिल्लामा तारेहोटल आवश्यक भएको बताए ।
विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आएका अर्जुन चोखालले होटल व्यवसायमा चार करोड लगानी गरिसकेका छन् । कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालय जस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् । रासस