हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ
काठमाडौँ । बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ ।
उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ । यसअघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो । त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ ।
त्यस्तै पूर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बंगलादेश छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कैयौं मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता–कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ ।
बङ्गलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भोगेकी छन् । अझै अशाान्त प्रदर्शन भइरहेको बङ्गलादेशमा सुरक्षाको माग गर्दै प्रहरीले नै हड्ताल शुरु गरेको छ । प्रहरीको हड्तालपछि ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी बङ्गलादेशको अन्सार अर्थात अर्धसैनिक बललाई दिइएको छ ।
अर्धसैनिकहरु स्वयंसेवकका रुपमा आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ हुदै आएका थिए । बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय भन्दा धेरैको ज्यान गएको छ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका एक नेताको होटलमा प्रदर्शनकारीले आगो लगाउदा हिजो २४ जनाको ज्यान गएको थियो । –न्यूज कारखाना