‘लापसे’ गरेका कार चालकले बल्खुमा दिए तीन पैदलयात्रीलाई ठक्कर


२०८१ श्रावण ८ मंगलबार ०५:४७ बजे

काठमाडौं । काठमाडौंको बल्खुमा कारले ठक्कर दिँदा तीन पैदलयात्री घाइते भएका छन् । बा ११ च ५९१६ नम्बरको कारले सोमबार साँझ सडक पेटीमा हिँडिरहेका तीन जना यात्रुलाई ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट भारतको मोतिहारी घर भइ हाल डल्लु बस्ने वर्ष १८ को प्रियन्सु कुमार, कुलेश्वर बस्ने वर्ष २५ को भोला कुमार र वर्ष १९ को श्याम बाबु ठाकुर घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ । कालिमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको सो गाडी पैदल यात्रुलाई ठक्कर दिएपछि सडक छेउको कुलो बनाउन राखेको सिमेन्टको ब्लकमा ठोक्किन पुगी दुर्घटना भएको छ ।

गाडी चालक भुपेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठले लागुपदार्थ सेवन गरी लापरवाहीपूर्वक सवारी साधन चलाएको प्रहरीको ठहर छ । कार चालक भुपेन्द्र श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा उनले बेन्जोडाइजेफिन्स नाम गरेको लागुऔषध सेवन गरेको पाइएको छ ।

उनले चलाएको कारको अगाडिको ड्यासबोर्ड भित्र निट्राभेट–१० लेखिएको एक पत्तामा खाई बाँकी रहेको तीन चक्की लागुऔषधजन्य पदार्थ फेला परेको छ । उक्त लागुऔषधजन्य पदार्थ र कार समेत नियन्त्रणमा लिई सवारी अंगभंग सम्बन्धी कसुर मुद्दामा प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७