एमालेसँग नयाँ सरकार गठनको सहमतिपछि देउवा निवासमा पदाधिकारी बैठक बस्दै

कांग्रेस र एमालेले तीन–तीन प्रदेश लिने सहमति, मधेसको नेतृत्व मधेस केन्द्रित दललाई


१८ असार २०८१, मंगलवार
Deuwa
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ । नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाइएको हो ।

देउवा निवासमा बिहान ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा एमालेसँग बनाउन लागेको नयाँ सरकारका विषयमा छलफल हुनेछ । कांग्रेस–एमालेबीच सोमबार मध्यरात सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।

समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी छ । दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । प्रदेशमा कांग्रेस र एमालेले तीन–तीन प्रदेशको नेतृत्व लिने सहमति भएको छ । एक नेताले दिएको जानकारी अनुसार कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिनेछ । यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व लिनेछ । मधेश प्रदेशको नेतृत्व भने मधेश केन्द्रित दललाई नै दिने सहमति भएको ती नेताले बताए ।

केन्द्र सरकारमा केही साना दललाई पनि सहभागी गराउने सहमति कांग्रेस–एमालेबीच भएको उनले बताए । ‘दुई तिहाइ बहुमत पुर्‍याउन मधेशकेन्द्रित र साना दललाई सरकारमा सहभागी गराउने सहमति भएको छ,’ उनले भने । कांग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि दाबी गर्ने तयारी गरेका छन् । केन्द्र सुरुमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने र कांग्रेस त्यसमा सहभागी हुनेछ । स्रोतका अनुसार एमालेले प्रधानमन्त्रीसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्री पाउने सहमति भएको छ । बाँकी मन्त्रालय अन्य दलका लागि छुट्याइएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७