मध्यरातमा देउवा र ओलीद्वारा हस्ताक्षर : एमाले अध्यक्ष ओली नयाँ प्रधानमन्त्री


१८ असार २०८१, मंगलवार
kp oli sherbahadur

काठमाडौं : नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

दुई दलबिच भएको वार्तामा सहभागी कांग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

कांग्रेस-एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमतिमा पुगेसँगै दुई दलका नेता सोमबार मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास गएका थिए । एमाले राष्ट्रपति पौडेलले अर्को सरकारको आह्वान संविधानको धारा ७६ (२) अनुसारै गर्ने आश्वस्त हुन चाहेको थियो । राष्ट्रपति पौडेलले एमालेको चासोमा आश्वस्त पारेपछि हस्ताक्षर भएको हो ।

सोमबार दिउँसो एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका थिए ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

हाल प्रतिनिधि सभामा कांग्रेसको ८८ सिट र एमाले ७८ सिट छ । शीर्ष यी दुई पार्टीको संख्या जोड्दा १६६ अर्थात् सुविधाजनक बहुमत पुग्छ । संविधानअनुसार नयाँ सरकार गठन गठनका लागि बहुमत अर्थात् १३८ जना सदस्य आवश्यक पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७