एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति


१८ असार २०८१, मंगलवार
KP Sharma Oli

काठमाडौं : संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । संसदको पहिलो दल कांग्रेस र दोस्रो दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको हो ।

दुई दलविच सोमबार राती शक्ति बाँडफाडको समेत अन्तिम टुंगो लागेको स्रोतको दाबी छ । ललितपुरको भिभान्ता होटलमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस नेता रमेश लेखकले सहमतिको खाका तयार पारेको एक नेताको दाबी छ । सहमति लगत्तै कांग्रेस नेताहरु बुढानीलकण्ठ पुगे भने एमाले नेताहरु बालकोट पुगेका थिए ।

एमालेसँगको सहमतिको मस्यौदा लगभग तयार भएको कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई बताएका छन् । उनका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने तयारी भएको छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।

सहमति अनुसार एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७