वैदेशिक रोजगार विभाग ठगहरुको रक्षाकवच बनेको छ : प्रभु साह


१७ असार २०८१, सोमबार
prabhu sha

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगार विभाग ठगहरुको रक्षाकवच बनेको आरोप लगाएका छन् । गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डोलप्रसाद (डिपि) अर्याल बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउनुको साटो ठग र माफियालाई संरक्षण गरेको आरोप उनले लगाए ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसद समेत रहेका आजपा अध्यक्ष साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन यो सरकार असफल भएको बताए । गृहमन्त्री लामिछाने, श्रममन्त्री अर्यालयले समेत पीडितलाई न्याय दिलाउन नसकेकोमा उनले आक्रोश व्यक्त गरे ।

‘लाखौ युवाहरु ठगीको सिकार भएका छन् । तर मन्त्रीजीलाई थाहा छैन् । त्यस्तो त रोकिनुपर्ने हो, बन्द हुनुपर्ने हो । ठगी हुने कामहरु, पीडितहरुले न्याय पाउनु पर्ने हो’ साहले भने, ‘आज हामी हेरिरहेका छौं वैदेशिक रोजगार विभाग ठगहरुको रक्षाकवच बनेको छ । मन्त्री मेनपावरको बचाउमा लागेका छन् । गृहमन्त्री वैदेशिक रोजगारको रक्षाकवच बनेका छन्, के पीडितको रक्षाकवच बन्नुपर्ने होइन र ? युवाहरु जो ठगीमा परिरहेका छन्, अलपत्र परिरहेका छन् । त्यस्तोलाई राहत दिनुपर्ने होइन र ? सरकारले पीडितलाई न्याय दिनुपर्ने होइन र ?’ वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको बताउँदै उनले वैदेशिक रोजगार विभाग घेराउ गर्दै आईटी आर्मीले पीडितलाई न्याय दिनुपर्ने माग गर्दा समेत सरकारले चासो नदिएको बताए । पीडितलाई न्याय दिनुको साटो आन्दोलनलाई रोक्नका लागि सरकारले वैदेशिक रोजगार विभाग अगाडि निषेधित क्षेत्र तोकेकामा आपति जनाउँदै त्यस बारेमा गृहमन्त्री लामिछानेसँग उनले जवाफ माग गरेका छन् ।

‘वैदेशिक रोजगार विभाग जाने बाटो के निषेधित क्षेत्र हो । के त्यो बाटोलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ? यहि होइन भने ती ठाउँमा शान्तिपूर्ण जुलुस किन गर्न दिइएन ? गृहमन्त्रीलाई म सोध्न चाहन्छु । तपाईले काठमाडौंका विभिन्न स्थानमा लागेका निषेधित क्षेत्र हटाईरहँदा हामीले समर्थन गरेका थियौं’ आजपा अध्यक्ष साहले भने, ‘तर, आज वैदेशिक रोजगार विभाग अगाडि न त धर्ना बस्न दिइएको छ । नत प्रदर्शन नै । यसबारेमा सरकारले स्प्रष्ट पार्नुपछ ।’

शान्तिपूर्वक प्रदर्शन गर्दा प्रहरीले दमन गरेको भन्दै साहले यसको जवाफ गृहमन्त्रीले दिनुपर्ने बताए । ‘वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन हाम्रो पार्टीको भातृ संगठन आइटी आर्मीका युवाहरुले आज १५ दिनदेखि लगातार प्रदर्शन गरिरहेका छन् । तर, त्यो बाटोमा हिँड्न दिइएको छैन् । शान्तिपूर्ण रुपमा प्रदर्शन र विरोध जनाउँदा प्रहरीले दुव्र्यवहार गरेको छ । प्रताडित गरेको छ । यदि निषेधित क्षेत्र हो भने सरकारले स्प्रष्ट भन्नप¥यो होइन भने त्यहाँ शान्तिपूर्ण विरोध प्रदर्शन गर्न किन पाइँदैन ?’ साहले प्रश्न गरेका छन् ।

रास्वपाले जान्नेलाई छान्ने रणनीति अन्तर्गत नै जान्ने भनिएका डीपी अर्याललाई श्रम रोजगार मन्त्री बनाएको भन्दै साहले जान्नेले पनि पीडितका माग सम्बोधन गर्न नसकेको बताए । ‘माननीय गृहमन्त्री ज्यूको पार्टीले जान्नेलाई छान्ने लाइन लिएको छ । जान्नेलाई नै मन्त्री बनाएको छ । मेनपावरको जानकार मान्छे श्रममन्त्री हुनुहुन्छ । मेनपावरले कसरी जनता ठग्छ भन्ने कुरा उहाँले राम्रोसँग बुझ्नु भएको छ । तर वैदेशिक रोजगार पीडितले न्याय किन पाउँन सकेनन् ? अहिलेसम्म हाम्रो माग किन पूरा भएको छैन’ उनले भने ।

आजपा निकटको आईटी आर्मीले बिभिन्न माग गर्दै विगत १५ दिनदेखि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिदै आएको छ । शान्तिपूर्ण रुपमा विभाग घेर्दै आएको आईटी आर्मीले आफूहरुको माग सुनुवाई नभएको भन्दै श्रममन्त्रीको पुत्ला समेत दहन गरेका थिए । वैदेशिक रोजगारका ठग बचाउन गृहमन्त्रीले शान्तिपूर्ण जुलुसमा रोक लगाएको आरोप समेत आईटी आर्मीले लगाएको छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन विभाग जाने बाटोमा नारा जुलुस गर्न खोज्दा प्रहरीले रोकेको जनाएका छन् ।

शान्तिपूर्ण विरोध जुलुस गर्ने संवैधानिक अधिकार हो तर गृहमन्त्रीले पावरको दुरुपयोग गरी बिना कारण शान्तिपूर्ण जुलुसमा रोक लगाएको उनले जनाएका छन् । विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजन्ंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गर्दै आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७