पार्टी बैठकमा देउवाले भने–ओलीजीसँगको छलफल सकारात्मक छ, धेरै टिप्पणी नगरौं


१७ असार २०८१, सोमबार
deuwa pic

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । कांग्रेसको सोमबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटबारे संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

गत शनिबार सभापति देउवाले बालकोट पुगेर ओलीसँग गरेको भेटबारे कुरा उठेपछि देउवाले उक्त भेटबारे बोलेका बैठकमा सहभागी एक नेताले बताए । सभापति देउवाले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगरौं भनेका थिए । पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पूर्व प्रधानमन्त्री ओलीसँग भएको भेटबारे सभापति देउवाले बैठकलाई जानकारी गराएको जानकारी दिए ।

‘बालकोटमा पूर्व प्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ, सकारात्मक कुराहरू छन् । यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य विश्वकर्माले भने । शनिबार दिउँसो तीन घण्टा ओली निवासमा सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्तामा के कुरा भयो भन्ने अहिलेसम्म विस्तृतमा सार्वजनिक भइसकेको छैन । विश्वकर्माका अनुसार अध्यक्ष ओलीले सभापति देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका हुन् । उक्त भेटबारे सभापति देउवाले सोमबारको पदाधिकारी बैठकमा भने, ‘अहिले ओलीजीसँग सम्बन्ध सुमधुर र सकारात्मक छ ।’

पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा बीआरआईलगायत विषयमा पनि कुराकानी भएको नेता विश्वकर्माले जानकारी दिए । साथै नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको र थप गर्नेबारे पनि कुरा भएको छ । असार १५ गते नै नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको थियो । ६ महिनाभित्र अधिवेशन गर्ने गरी भ्रातृ संस्थाका म्याद आगामी केन्द्रीय समिति बैठकबाट थप गर्न नेताहरू सहमत देखिएको विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७