माधव, झलनाथ र घनश्यामकाे विचारमा राजेन्द्र राईको ‘फरक मत’ : जबजको ‘च्याप्टर क्लोज’ भएको छैन


१७ असार २०८१, सोमबार
Rajendra Rai 4

काठमाडौं : नेकपा (एकीकृत समाजवादीले पार्टी) स्थापनाको तीन वर्षपछि पहिलो पटक महाधिवेशनमा होमिएको छ । तर उसले महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ । नेकपा (एमाले) बाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) ले आफूलाई त्यसकै निरन्तरता भन्दै दशौं महाधिवेशन भनेको हो ।

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशनलाई दशौं भने वैचारिक रुपमा भने एमालेबाट भिन्न जस्तो बनाएको छ । उसले जनताको बहुदलीय जनवाद (जबज)लाई छोडेर समाजवादी कार्यक्रम अघि सारेको छ । एकीकृत समाजवादीले मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र वैज्ञानिक समाजवादलाई बनाएको छ । अध्यक्ष माधवकुमार नेपालले भनेका छन्, ‘मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हो । हामी क्रान्तिकारी र सर्वहारा वर्गीय दृष्टिकोण अँगाल्छौं । उदार लोकतन्त्रवादी विचार हाम्रो होइन । वैज्ञानिक समाजवादको विचार हो ।’

जबजका १४ वटा थप विशेषताहरु र जबजले विभिन्न विषय/शीर्षकमा अगाडि सारेका मान्यताहरु मध्ये अहिले पनि र अझै पनि धेरैको सान्दर्भिकता समाप्त भएको छैन, पढे हुन्छ ।

विचारको बहसमा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल एकमत भएका छन् । तर, अध्यक्ष नेपाल निकट मानिने सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भने विचारको बहसमा फरक मत प्रस्तुत गरेका छन् । महाधिवेशनमा दस्ताबेजमा सुझाव नामक ३२ पेज लामो फरक मत प्रस्तुत गदै सचिव राई जनताको बहुदलीय जनवाद (जबज) पक्षमा उभिएका हुन् ।

राईले फरक मतमा भनेका छन्, ‘क्रान्तिको कार्यक्रमको रुपमा जबजको च्याप्टर क्लोज भन्न सकिए पनि जबजले अघि सारेका वा आत्मसाथ गरेका कतिपय यस्ता विशेषता/मान्यताहरु छन जसको औचित्यता अझै छ, त्यसैले जबजको पूरै च्याप्टर क्लोज भएको मान्न सकिन्न ।’

जबजको पक्षमा उभिएका राईले आफ्नो फरक मतमा लेखेका छन् :

जबजको ‘च्याप्टर क्लोज’ भएको छैन
जनताको बहुदलीय जनवाद (जबज) सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, साम्राज्यवादविरोधी नेपाली क्रान्तिको कार्यक्रम हो । नेपाली समाज सामन्तवादबाट अगाडि बढेर पूँजीवादमा प्रवेश गरेको कारणले क्रान्तिको कार्यक्रमको रुपमा चाहिँ जबजको च्याप्टर क्लोज भयो आम रुपमा । तर, जनताको बहुदलीय क्रान्ति नभईकन नेपाली समाज सामन्तवादबाट पूँजीवादी चरणमा प्रवेश गरेको कारणले जबजका कतिपय कार्यक्रमहरु पूरा हुन सकेनन, तर पनि अब हामी पूँजीवादी क्रान्तिको चरणमा छैनौ, समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छौ ।

त्यसैले अब हाम्रो क्रान्तिको कार्यक्रम समाजवादी हुनेछ, जबजका अधुरा प्रासाँगिक कार्यक्रमहरु समाजवादी क्रान्तिका अंगका रुपमा जोडिएर जानेछ । यति कुरामा कसैले हाम्रा पार्टी भित्र विमति राखेको छैन । तर, पनि कतिपयले जबज छाड्न जचाहेको भन्नेजस्ता दुस्प्रचार पनि हुने गरेको छ बेलाबखत ।

क्रान्तिको कार्यक्रमको रुपमा जबजको च्याप्टर क्लोज भन्न सकिए पनि जबजले अघि सारेका वा आत्मसाथ गरेका कतिपय यस्ता विशेषता/ मान्यताहरु छन जसको औचित्यता अझै छ, त्यसैले जबजको पूरै च्याप्टर क्लोज भएको मान्न सकिन्न । यसबारे केही छलफल गरौः

क) जबजले अगडि सारेको सर्वाधिक महत्वपूर्ण मान्यतामध्ये क्रान्तिको विजयपछि प्राप्त हुने जनताको बहुदलीय जानवादी व्यवस्थामा मात्र होइन वर्गहरुको समूल अन्त्य नभएको समाजवादको प्रारम्भिक अवस्थामा समेत बहुदलीयता, बहुदलीय प्रतिस्पर्धात्मक प्राणाली रहने, अधिनायकत्व लादेर होइन प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर जनताको माया र विश्वास जितेर उनीहरुको साथ र सहयोगमा शासन चलाउने भन्ने हो ।

जबजको प्रतिपादन पूर्व, नौलो जनवादी व्यवस्था एकदलीय हुनेछ, अधिनायकत्व लादेर शासन गरिनेछ भन्ने मान्यता आमरुपमा स्थापित भएको विपरित जबजले त्यस्तो मान्यता सार्ने कुरा सामान्य थिएन । यस मान्यताको सान्दर्भिकता अझै सकिएको छैन । कमरेडहरुले अहिलेकै व्यवस्थालाई बहुदलीय जनवादी व्यवस्था मानेको हो भने त बहुदलीयता र बहुदलीय प्रतिस्पर्धा अहिले कार्यान्वयनमा या अभ्यासमा छ, त्यसको च्याप्टर क्लोज भएको छैन । अझ समाजवादको प्रारम्भिक चरणमा पनि बहुदलीयता र बहुदलीय प्रतिस्पर्धा रहनेछ भन्ने जबजको मान्यता भएकोले यदि जबजलाई स्वीकार्ने हो भने यो मान्यताको सान्दर्भिकता त अझै धेरै समय सम्म रहने देखिन्छ ।

ख) जबजले अघि सारेको अर्को महत्वपूर्ण मान्यता शान्तिपूर्ण संघर्ष/क्रान्तिको मान्यता हो । खासमा जबजको प्रतिपादनभन्दा पहिला कम्युनिष्ट क्रान्ति चाहे नौलो जनवादी होस् चाहे समाजवादी अनिवार्यरुपले हिंसात्मक हुन्छ मान्यता स्थापित थियो, शान्तिपूर्ण संघर्ष, क्रान्तिको अवधारणालाई संशोधनवादी/दक्षिणपन्थी रुपमा लिइने गरिन्थ्यो तर जबजले के मान्यता अघि सा-यो भने क्रान्ति/संघर्ष अनिवार्य रुपले हिंसात्मक, बल प्रयोगपूर्ण हुनुपर्छ भन्ने होइन, संघर्ष/क्रान्ति कस्तो हुने भन्ने कुरा तत्कालीन परिस्थितिमा निर्भर गर्ने कुरा हो अथवा शत्रु पक्ष/सत्तापक्ष हिंसात्मक ढंगले आउँछ भने त्यसलाई परास्त गर्न हिंसात्मक संघर्ष बाहेक अर्को विकल्प हुन सक्दैन तर सत्तापक्षले शान्तिपूर्ण ढंगले मुकाविला गर्ने तरिका अपनायो भने शान्तिपूर्ण रुपमा नै संघर्ष विकसित हुन सक्छ । हिंसात्मक संघर्ष सिद्धान्तको विषय होइन न रहरको विषय हुन सक्छ । सम्भावना भएसम्म संघर्ष शान्तिपूर्ण ढंगले अगाडि बढाइनुपर्छ आवश्यकता पर्यो भने मात्र बल प्रयोग गर्नुपर्छ ।

संघर्ष/क्रान्तिसम्बन्धी उक्त अवधारणा जननेता मदन भण्डारीले नौलो जनवादी क्रान्तिको सन्दर्भमा अघि सार्नुभएको भएपनि यो आम क्रान्ति/संघर्षसँग सम्बन्धित सिद्धान्त/मान्यता भएकोले अबको समाजवादी क्रान्तिको हकमा पनि यो सिद्धान्त/मान्यता लागू हुन्छ किनकी समाजवादी व्यवस्था वा समाजवाद पनि कसैले किस्तीमा राखेर हामीलाई दिइने कुरा होइन अथक र कठिन संघर्षबाट मात्र प्राप्त गर्न सकिने व्यवस्था हो ।

त्यसैले अब समाजवादी क्रान्ति पनि हिंसात्मक हुने कि शान्तिपूर्ण हुने प्रश्न आउँछ नै, यस प्रश्नको उत्तर जबजको आलोकमा हामी सहजै दिन सक्छौ । सम्भावना रहेसम्म समाजवादी क्रान्ति पनि शान्तिपूर्ण ढंगले अघि बढ्नेछ/बढाइने छ र आवश्यक पर्दा बल प्रयोग/हिंसात्मक बाटो समात्न अनिवार्य हुनेछ ।

ग) जबजका १४ वटा थप विशेषताहरु र जबजले विभिन्न विषय/शीर्षकमा अगाडि सारेका मान्यताहरु मध्ये अहिले पनि र अझै पनि धेरैको सान्दर्भिकता समाप्त भएको छैन, पढे हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७