मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : ओली, यही गठबन्धनबाट बन्नुस् : प्रचण्ड

ओली–प्रचण्डबीच तीन घण्टादेखि बालुवाटारमा वार्ता जारी


१७ असार २०८१, सोमबार
prachanda kp oli 2

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल गरेका छन् । शान्ति प्रक्रियालाई टुंगो लगाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीले प्रस्ताव गरेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

‘हामीलाई परिवर्तन चाहिएको छ,’ उनले प्रचण्डसँग भने, ‘आर्थिक सुधार चाहिएको छ । सहमतीय विश्वासलाई पनि बलियो बनाउनु पर्नेछ ।’ राष्ट्रिय सहमतीय सरकार आफ्नो नेतृत्वमा बन्ने र त्यसमा नेपाली कांग्रेसले पनि साथ दिने भन्दै ओलीले प्रचण्डको दललाई पनि नयाँ सरकारमा सहभागिता जनाउन आग्रह गरे । केही क्षणको मौनता पछि प्रचण्डले जवाफ फर्काए, ‘हामी वर्तमान गठबन्धनलाई निरन्तरता दिन सक्छौं । म प्रधानमन्त्री पद छोड्न तयार छु ।’

prachanda kp oli 1
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गर्दै । तस्बिर : प्रदीपराज वन्त / रासस


उसो त यो वार्ता अचानक भएको होइन । गत शनिबार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले ओलीको निवासमा पुगेर संविधान संशोधनसहित नयाँ सरकार गठनको प्रस्ताव राखेका थिए । त्यसपछि, ओलीले लगातार दुई दिन प्रचण्डलाई भेटेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रचण्डसँग घनिभूत छलफल थालेका ओलीले यस्तो प्रस्तावपछि प्रचण्डले पनि उनलाई काउन्टर प्रस्ताव गरेको स्रोतको दाबी छ । प्रचण्डले ओलीलाई यही गठबन्धनबाट प्रधानमन्त्रीको अफर गरेका छन् ।

प्रचण्डले ओलीलाई कांग्रेससँग मिल्नुको साटो यही गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेको स्रोत बताउँछ । एमाले र कांग्रेसबीच करिब सहमति भइसकेपछि ओलीले प्रचण्डलाई उक्त प्रस्ताव गरेको माओवादी नेताहरूको बुझाइ रहेको छ । सोही कारण प्रचण्डले पनि उक्त विषयमा थप जवाफ नदिएको वालुवाटार निकट स्रोतको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष ओलीबीच सोमबार बिहान भएको भेटवार्ताले नेपाली राजनीतिको कोर्स फेरिने देखिएको छ ।

नेपाली राजनीतिको यो नाटकीय मोड आउनुमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रियामा प्रधानमन्त्रीको योजना अनुसार अर्थमन्त्री वर्षमान पुनले ओलीलाई चिढ्याउन गरेको प्रपञ्च थियो । ओली बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बनाउन चाहन्थे तर प्रधानमन्त्री र अर्थमन्त्रीले नचाहँदा प्रक्रिया नै खारेज भएको छ । यसपछि सहमतिमा चिसोपना बढेको हो ।

यद्यपि बजेटमा पनि ओली खुशी थिएनन् । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेको छ । सोमबार बिहान साढे ९ बजेदेखि सुरू भएको भेटवार्ता अहिले पनि जारी छ । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो । पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः अहिले चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७