नाउपाले अरुण चौधरीलाई मन्त्री बनाउने


१७ असार २०८१, सोमबार
arun

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ । आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको हो ।

मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको स्रोतले जानकारी दिएको छ । यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारुढ दलसँग छलफल अगाडि बढाइरहेका छन् । साना दललाई समेट्न एमाले र माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाउने तयारी गरेका छन् । रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन् । तर, पछिल्लो समय रञ्जिता आफैं मन्त्री बन्ने घोषणा गरेपछि अरुण बिच्किएको नाउपाभित्र चर्चा छ । उनले यस विषयमा रञ्जजितासँग जवाफ मागेपछि चित्तबुझ्दो जवाफ नआएको अरुण निकट स्रोतले जनाएको छ ।

यससँगै केन्द्रमा अब रेशम चौधरी पक्षमा ३ सांसद भएका छन् । बैठकमा चार सांसदमध्ये तीन जनाले हस्ताक्षर गरेका छन् । पार्टीका चार सांसदमध्ये गंगाराम चौधरी, अरुणकुमार चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि श्रेष्ठ एक्लिएकी छन् । आइतबारको बैठकले दलको नेताबाट रञ्जितालाई हटाएर गंगा चौधरी चयन गरेको छ । त्यस्तै प्रमुख सचेतक पदमा रहेका रेशमका बुबा लालवीर चौधरीलाई राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा रञ्जिताको हस्ताक्षर भने छैन । दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले जानकारी दिए । पछिल्लो समय रेशम चौधरी र रञ्जिताबीच पार्टी सञ्चालनको विषयलाई लिएर विवाद हुँदै आएको छ । उक्त विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७