डेनमार्कलाई हराउँदै आयोजक जर्मनी क्वार्टर फाइनलमा


१६ असार २०८१, आईतवार
germany

काठमाडौं । डेनमार्कलाई पराजित गर्दै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शनिवार राति डर्टमुन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो ।

घरेलु टोली जर्मनीको जितमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो । त्यो बेलासम्म कुनै गोल भएको थिएन । फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो । त्यसलाई हाभट्जले गोलमा परिणत गरेका हुन् । यस्तै खेलको ६८ औँ मिनेटमा गोल गर्दै मुसाइलाले जर्मनीको जीत सुनिश्चित गराए ।

खेलमा दुवैतर्फबाट भएका थप गोललाई भीएआरको माध्यमबाट रद्द गरेका थिए । यसले खेल रोचक बनाएको थियो । यस्तै साविक विजेता इटाली प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ । शनिवार राति बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको हो ।

स्विट्जरल्यान्डले खेलको ३७ औँ मिनेटमै गोलको खाता खोलेको थियो । रेमो फ्रेउलेरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । यस्तै दोस्रो हाफ शुरू हुने बित्तिकै खेलको ४६ औँ मिनेटमा स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो । रुबेन भार्गासले गोल गरेका हुन् । यसपछि दुवै तर्फबाट थप गोल हुन नसकेपछि स्विट्जरल्यान्डले खेल २–० ले जितेको हो ।

यससँगै स्विट्जरल्यान्ड प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गत संस्करणको युरोकपमा स्विट्जरल्यान्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो । यो पटक पनि उसले यस्तै ‘सरप्राइज’ नतिजा दोहोर्‍याएर साविक विजेता इटालीलाई घर फर्काएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७