प्रचण्ड–माधवसँगको कार्यक्रम छाडेर बालकोटमा ओलीको देउवासँग अर्थपूर्ण भेट


१५ असार २०८१, शनिबार
deuba oli1645112196

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार अपरान्ह ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ । देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी देउवा पत्नी आरजु राणा पनि पुगेकी थिइन् ।

सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । आज (शनिबार) दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा पुष्पलाल जन्मजयन्ती समारोहको कार्यक्रम थियो ।
चितवन रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हतार–हतार काठमाडौँ आइपुगे । प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सिपि गजुरेल, बामदेव गौतम, देव गुरुङ, सिपि मैनाली, नेत्र विक्रम चन्द विप्लव लगायतलाई निम्तो थियो ।

प्रचण्ड भरतपुरमा धान दिवस मनाएर हतार हतार काठमाडौँ फर्कदा भक्तपुरमै निवासमा रहेका एमाले अध्यक्ष ओली भने कमलादी पुगेनन् । कार्यक्रममा आयोजकले प्रमुख अतिथिको नामको सूची तयार पार्दै थियो । ओली नआइपुगेपछि उनको नामको पछाडि (आउन बाँकी) लेखियो ।

स्रोतका अनुसार, ओली कमलादीको कार्यक्रम छाडेर भक्तपुरको बालकोटस्थित निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्तामा थिए । ओलीलाई भेट्न देउवा दिउँसो साढे तीन बजे बालकोट पुगेको स्रोतले जानकारी दिएको छ । उनीहरूबीच झण्डै दुई घण्टा लामो छलफल बालकोटमै बसेर भएको जनाइएको छ । तर कुराकानीका विषयहरू भने बाहिर ल्याइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७