पहिले माओवादी विद्रोह ढिला भयो, अहिले अधुरो : डा. बाबुराम भट्टराई

‘भू–राजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ’


१५ असार २०८१, शनिबार
Baburam Bhattarai
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भू–राजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) प्रकाश विकल्पको ‘एन्टिथेसिस’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले भूराजनीतिक सन्तुलन मिलाउन सके देश बन्ने दावी गरे ।

‘नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो । हामी हाम्रो जैविक, वातावरणीय रुपले हामी पछाडि परेका छैनौं । नेपाल समृद्ध बन्न सक्छ । शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनु पर्छ’, उनले भने ।
नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए । समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्‍याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘हाम्रो थुप्रै वामपन्थी भनेको छ, यो छोडिदिऔँ, यो घाँडो भयो, संघीयता छोडिदिऔं । यो पहिचानवादी कुरा नगरौँ भन्नुहुन्छ, खुसुक्क मसँग आएर । यथार्थ हेर्ने हो नि । यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो । आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत हामीले बनाऔं’, उनले भने ।

भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनु पर्नेमा उनले जोड दिए । डा. भट्टराईले नेकपा माओवादी केन्द्रले थालेको जनयुद्ध अधुरै रहेको जिकिर गरेका छन् । उनले क्रान्ति सकिएको छैन, अझै जारी राख्नु पर्छ भन्दा आफू एक्लिएको बताए ।

उनले भने, ‘अहिले १७ हजार भन्छन्, २१ औं शताब्दीको सुरुमा आएर सबैले विद्रोह गर्नुपर्छ भनेर महान काम गरेका हौं । ढिलो भयो पो भन्नु पर्ने हो तपाईंहरुले । पहिले ढिलो भएको हो, अहिले अपूरो भयो भन्ने हो मेरो बुझाइ । मैले आधा गिलास भरी आधा खाली किन भनें ? माओवादी पार्टी र सार्थीहरुसँग मेरो आपत्ति छ । भूराजनीतिक कारणले हाम्रो क्रान्ति अपूरो थियो । भूराजनीतिक चलखेल नभएको भए यो राज्यलाई हामी जित्थ्यौं । तर, चलाउन सकिँदैनथ्यो, त्यो त बुझेकै थियौं नि !’

नेता भट्टराईले माओवादीका नेताहरूलाई लक्षित गर्दै क्रान्ति अधुरो भएको स्वीकार्न तयार नभएको आरोप लगाए । उनले थपे, ‘भूराजनीतिले बाहिरबाट हस्तक्षेप गथ्र्यो, फेरि अफगानस्ता, सिरिया, युक्रेन जस्तो हुने खतरा हुन्थ्यो । त्यो भएकाले हामीले सम्झौता गरेर जाऔं भनेकै हौं । तर, त्यतिबेला सम्झौता नगरौं भन्ने साथीहरु अहिले क्रान्ति पूरा भएको जस्तो गरेर बसिरहेका छन् । क्रान्ति पूरा भएको छैन भन्ने मान्छे चाहिँ एक्लिएको छ अहिले ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७