जंगलमा घाँटी रेटिएको अवस्थामा भेटिएका ओभरसियरको मृत्यु


१५ असार २०८१, शनिबार
dambardev

डडेलधुरा । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा भेटिएका ओभरसियर डम्वरदेव भट्टको मृत्यु भएको छ । आज (शनिबार) डडेलधुराको अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा भेटिएका हुन् ।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले जानकारी दिए । घटनास्थलमा चक्कु पनि भेटिएको उनले बताए । डम्बर हिजो बेलुका ६ बजेदेखि हराएका थिए । खोजतलासका क्रममा उनी बिहान घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

उपचारका लागि उनलाई डडेलधुरा अस्पतालले धनगढी रेफर गरेको थियो । धनगढीमा उपचारकै क्रममा ओभरसियर भट्टको मृत्यु भएको उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष द्विजराज भट्टले जानकारी दिए । सब ओभरसियर उनी निर्माण व्यवसायी समेत हुन् । निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए । आर्थिक अवस्था खस्किँदै गएपछि उनी केही तनावमा रहेको कुरा खुल्न आएको छ ।

उनले आर्थिक तनाव सहन नसकेर आत्महत्याको प्रयास गरेको हुन सक्ने जनाएको छ । रातिसम्म घर नफर्किएपछि उनका आफन्तले खोजी गरेको तर नभेटिएको जनाए । उनी आज बिहान मात्रै चक्कुले घाँटी रेटेको र रकताम्य अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शव अहिले डडेलधुरा ल्याउने आफन्तले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७