कम्युनिष्ट एकताको विकल्प छैन, तर नेतृत्व मेरै हुनुपर्छ भन्ने अहंकारले हुँदैन : विप्लव

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग


१५ असार २०८१, शनिबार
Biplaw
फाइल फोटो

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी भइरहेको बताएका छन् । पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले देशलाई अप्ठेरो पर्दा कम्युनिष्टहरुले नै देशलाई मुक्त गरेको दावी गरे ।

उनले भने, ‘अहिले देखिएको चुनौतीको निकास पुष्पलाललाई आधार बनाएर नयाँ प्रस्तावअनुसार कुनै पार्टीले अहंकार नगरे हुन्छ । मेरै नेतृत्वमा, मैले नै, मैले नै भनेको मान्नु पर्छ भनेर कसैले सोच्छ भने त्यो सम्भव छैन । सबैले हेक्का राखे हुन्छ । नयाँ आधारमा एकताको प्रस्ताव गरेर कम्युनिष्टहरुलाई पुनर्जागृत गरेर एउटै पार्टी बनाउन सक्छौं ।’ महासचिव विप्लवले अहिले पनि देशमा ७० प्रतिशतभन्दा धेरै जनता कम्युनिष्टहरुको पक्षमा रहेको दावी गरे ।

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग
महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । ‘पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनु भएको छ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ ।’ उनले भने ।

मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रुपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको उनले बताए । सामन्तवादको बिरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु बिरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गरेको उनले स्मरण गरे । उनले भने ‘पुष्पलालले दुई वटा प्रवृत्तिको बिरुद्धमा निरन्तर संघर्ष गर्नु भएको छ । त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ ।’ पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति भएको कुरामा सबै कम्युनिष्टहरु सहमत रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७