गुल्मी, स्याङ्जा र बागलुङ पहिरो : एकै दिन एकै घरका पाँचसहित नौं जनाको मृत्यु


१५ असार २०८१, शनिबार
pahiro gulmi 1

काठमाडौं । आज (शनिबार) एकै दिन पहिरोका कारण तीन जिल्लामा नौं जनाको ज्यान गएको छ । गुल्मी, स्याङ्जा र बागलुङमा गरी नौं जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका पाँच जनाको मृत्यु भएको छ । गए राति पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । बुहारी र नाति घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । यस्तै स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए ।

‘राति सुतेका बेला पहिरो खसेको हो’, उनले भने । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए । पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घर नजिकै रहेको गोठ पुरिएको छ । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७