विद्यार्थीले रुचाएको विषय अध्ययनका लागि सम्बन्धन नै दिइँदैन : सांसद साह


१३ असार २०८१, बिहीबार
Prabhu shah
फाइल फोटो

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले शिक्षा क्षेत्रमा व्यापक बेथिति रहेको भन्दै त्यसलाई सच्याउन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा बोल्दै साहले सरकारी आंगिक कलेजहरूमा निजीमा जसरी व्यापार भइरहेको बताए ।

‘सरकारी कलेजहरूमा प्राइभेट कलेजमा जसरी निजी अनुमति लिने र अकुत पैसा उठाएर व्यापार गरेर खुलेआम भ्रष्टाचार भइरहेको छ । त्यस्तो अवस्था के हो हामी जान्न चाहन्छौँ’, उनले भने, ‘सरकारी स्कुलहरुको सबै पूर्वाधार सरकारी हो । तलब सरकारी हो भने निजी अनुमति लिएर पैसा उठाएर दुरुपयोग गर्ने काम किन भइरहेको छ ? त्यो रोक्न जरुरी छ ।’

उनले आज अधिकांश कलेजहरू निजी व्यापारमा लागेका समेत बैठकमा बताए । शिक्षा क्षेत्रमा खुलेआम भ्रष्टाचार भइरहेको उनको भनाइ छ । विद्यार्थीहरूले चाहेको विषयमा अध्ययन गर्न नपाउँदा कलेजहरूमा विद्यार्थी नभएको र विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ ।

‘समाजले डिमान्ड गरेको विषयमा पढाइ छैन । विद्यार्थीले रुचाएको विषयको सम्बन्धन नै पाउँदैन । अहिले आईटीको युग हो । तर सम्बन्धन नै दिइँदैन । सिन्डिकेट छ सम्बन्धनमा’, उनले भने, ‘सामुदायिक कलेजहरूले सम्बन्धन पाएका छैनन् । किनभने त्यहाँ कम फिस लिइन्छ। तर काठमाडौँ केन्द्रित कलेजमा दिइन्छ । सहजै सम्बन्धन नदिइँदा विद्यार्थी महँगोमा पढ्न बाध्य छन् ।’ उनले विश्वविद्यालयमा भागबन्डाका आधारमा पदको बाँडफाँट हुने गरेको भन्दै त्यसको विरोध समेत गरे । राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयलाई बिगार्ने काम भएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७