वरिष्ठ क्याप्टेन लामाको कारबाही फुकुवा, २३ दिनपछि फर्किए उडानमा


१३ असार २०८१, बिहीबार
bijaya lama
फाइल फोटो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का वरिष्ठ पाइलट विजय लामाको उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको छ । तीन साता अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर आँच आउने गतिविधि गरेको भन्दै लामालाई उडानमा रोक लगाएको थियो । लामा वाइडबडी ए ३३० को आइपी पाइलट हुन् । उनलाई प्राधिकरणले २५ हजार जरिवाना तिराएर प्रतिबन्ध फुकुवा गरेको हो । प्राधिकरणका अनुसार लामाले अब हवाई सुरक्षामा आँच आउने गतिविधि नगर्ने प्रतिबद्धता गरेका छन् ।

लामाले आफूले नियत नै राखेर कुनै पनि काम नगरेको तर त्यसले हवाई सुरक्षामा आँच आउन सक्ने प्राधिकरणको ठहरलाई सम्मान गर्ने समेत बयानमा बताएका थिए । लामाको प्रतिबद्धतापछि उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको प्राधिकरणको भनाइ छ । क्याप्टेन लामा ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको लङ हल रुटअन्तर्गत जापान, हङकङ लगायतका उडान प्रभावित भएको थियो ।

निगममा वाइडबडी जहाजका लागि कुल आठ जना क्याप्टेन र पाँच को–पाइलटमध्ये यसअघि नै ३ जना वरिष्ठ क्याप्टेन ग्राउण्डेड छन् । जहाज सी–चेक प्रक्रियामा नागरिक उड्डयन प्राधिकरणको नियम नै उल्लंघन गरेको भन्दै थप दुई जना क्याप्टेन अहिले निलम्बित छन् । निगमको वाइडबडी जहाजका क्याप्टेन सुवास रिजाल स्वास्थ्यका कारण ग्राउण्डेड छन् भने क्याप्टेन श्रवण रिजाल वाइडबडी खरिद प्रकरणका कारण ग्राउण्डेड छन् । यस्तै क्याप्टेन योगेश हिराचनले ३ महिना अगाडि नै निगमबाट बिदा भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७