मनसुनजन्य विपद : १७ दिनमा २८ जनाको मृत्यु

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह


१२ असार २०८१, बुधबार
lamjung pahiro 1

काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन (जेठ २८ देखि असार १२ गते) सम्म २८ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । यसबीच १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ ।

पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २५ घरमा पूर्ण क्षति भएको छ । १० घरमा पहिरोले आंशिक क्षति पुर्‍याएको छ । पहिरोले संखुवासभामा एक, ताप्लेजुङमा पाँच, ओखलढुङ्गामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ ।

पहिरोबाट मात्रै ६९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । चट्याङले १७ लाख ७६ हजार रुपैयाँको क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ भने सप्तरीमा दुई जना घाइते भएका छन् ।

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ ।

बाढीविद् जोशन महर्जनले चितवन आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यस क्षेत्र आसपासका नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए । ‘हामीले मुलुकभर यतिबेला कहाँ कहाँ भारी वर्षा भइरहेको छ, कहाँ कहाँ नदीको सतह बढिरहेको छ, अवलोकन गरिरहेका छौ’, उनले भने ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए ।

भारी वर्षाको सम्भावना भएको क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज उदयपुर, सिन्धुली, मकवानपुर चितवन, लमजुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाब बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ ।

महाशाखाद्वारा जारी बुलेटिनमा आज कमला नदीमा बहाव बढ्ने र नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख छ । आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदी तमोर, अरुण, तामाकोशी, दूधकोशी तथा कन्काई र यसका सहायक नदीहरुमा जल सतह बढ्दै जाने पूर्वानुमान गरिएको छ ।

साथै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बाङलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्यूठान, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विपद प्रतिकार्यमा खटिन रेडक्रसकर्मीलाई अनुरोध
नेपाल रेडक्रस सोसाइटीले देशभर भइरहेको बाढी पहिरोलगायतका विपद्मा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ । यस वर्ष विगतका वर्षभन्दा वर्षाको सम्भावना उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रेडक्रसले देशैभरका आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाई समुदायमा विपद्का कारण आइपर्न सक्ने विषम परिस्थितिको आँकलन गरी पूर्व तयारीसहित प्रतिकार्यका लागि तयार रहन आग्रह गरेको हो ।

रेडक्रसका अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले आज विज्ञप्ति जारी गरी प्रभावित जिल्लामा उद्धार तथा सहायताका सामग्री वितरणमा संलग्न हुनस मेत सोसाइटीका प्रदेश, जिल्ला र उपशाखा सबैमा अनुरोध गरेका छन् । ‘प्रभावित समुदायलाई समयमै आवश्यक सहायता उपलब्ध गराउनेतर्पm रेडक्रस उद्धत रहेको सबैमा जानकारी गराउँदछौँ । विपद् पूर्वतयारीसहित विपद्पश्चात् गरिने उद्धार एवं सहायता सामग्री वितरणमा हामी सबैको ध्यान जानुपर्ने र यस वर्ष मनसुन केही बढी क्रियाशील हुने मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सबैलाई सजग रहन अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष नेपालले विज्ञप्तिमार्फत नै समुदायमा सेवा गरी विपद् उत्थानशील समुदाय निर्माण गर्ने रेडक्रस जस्तो परोपकारी संस्थालाई सरकारका सम्बद्ध मन्त्रालय तथा विभाग, प्रदेश र स्थानीय सरकार तथा दातृ निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् । विसं २०२० साल भदौ १९ गते ‘नेपाल रेडक्रस सोसाइटी’ को स्थापना भएको हो । हाल रेडक्रसको सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय छन् । छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलको साङ्गठनिक स्वरूपबाट समुदायमा सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७