सिंहदरबार प्रवेश गर्न अब ‘इ–गेटपास’


१२ असार २०८१, बुधबार
Singha Darbar

काठमाडौँ । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘साउनदेखि सिंहदरबार प्रवेशका लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुनेछन्, कसले पास लिए त्यसको रेकर्ड पनि रहने भएकाले अब इ–गेटपास प्रणाली प्रयोगमा ल्याइनेछ’, उनले भने ।

विगतमा विभिन्न मन्त्रालयबाट जारी गरिएका अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि अहिले ती पास खारेज गर्न लागिएको जानकारी दिँदै प्रवक्ता भट्टराईले क्युआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने बताए । ‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाई युजर आइडी र पासवर्ड राखेर अनलाइनबाट अनुरोध गर्ने तथा गेटपास पाउन आधारभूत विवरण भर्नुपर्ने प्रणाली बनाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७