टी–२० विश्वकप : भोलिदेखि सेमिफाइनलका खेल

दक्षिण अफ्रिकाको अपराजित यात्रा रोक्ने प्रयासमा अफगानिस्तान


१२ असार २०८१, बुधबार
afganistan ELpz3aiteN

काठमाडौँ । जारी टी– २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् ।

सुपर आठको समूह–१ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समूह–२ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् । अब सेमिफाइनलका दुवै खेल बिहीबार हुनेछन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६ः१५ बजेदेखि शुरु हुनेछ ।

दक्षिण अफ्रिका सुपर आठमा तीनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्कोतर्फ अफगानिस्तानले समूह चरणमा न्युजिल्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसआघ सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि सन् २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

त्यस्तै अफगानिस्तान भने इतिहास बनाउँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी –२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ । त्यसै गरी दोस्रो सेमिफाइनल खेल भारत र इङ्ल्याण्डबीच हुने भएको छ ।

गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुनेछ । भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनलसम्म पुगेको छ भने इङ्ल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमिफाइनलमा पुगेको छ । इङ्ल्याण्ड समूह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

भारतले २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङ्ल्याण्डले भने सन् २०१० र २०२२ को विश्वकप जितेको थियो । भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी– २० खेल भएका छन् । जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७