जंगली च्याउ खाँदा एकको मृत्यु, परिवारका चार जना विरामी
मकवानपुर । जंगली च्याउ खाँदा मकवानपुरको दुर्गम वस्तीका एक जनाको मृत्यु भएको छ । एकै परिवारका चार जना विरामी छन् । जंगलवाट च्याउ खोजेर ल्याएका राक्सिराङ गाउँपालिका—७ दुगुवाङका ५५ वर्षीय दलबहादुर चेपाङको च्याउ खाएर मृत्यु भएको स्थानीयवासी सिंहबहादुर चेपाङले बताए । च्याउ खाएर दलबहादुरकी पत्नीसहित चार जना बिरामी छन् ।
जंगली च्याउ खाएर विरामी भएका पाँचै जनालाई उपचारका लागि चितवन लैजाने क्रममा दलबहादुरको बाटोमा नै मृत्यु भएको हो । विरामी भएकालाई उनीहरुलाई उपचारका निम्ति भरतपुर लगिएको हो । च्याउ खाएर विरामी हुनेमा राक्सिराङ गाउँपालिका-७ दुगुवाङका मृतकका पत्नी ५० वर्षकी जालीमाया चेपाङ, १४ वर्षीया छोरी रेन्जु चेपाङ, १२ वर्षीया छोरी सविना चेपाङ र १० वर्षीय छोरा सुशल चेपाङ रहेका छन् ।
अवस्था सामान्य रहेको वडाध्यक्ष रामवहादुर चेपाङले भने । उक्त गाउँ पुग्न लोथर वजारवाट ८ घण्टा पैदल हिड्नु पर्छ । दलबहादुरले शनिबा बेलुका जंगलबाट च्याउ खोजेर ल्याएका थिए । बेलुका त्यही पकाएर खाएपछि उनीहरु विरामी परेका हुन वडाध्यक्ष रामवहादुरले भने ।