प्रधानमन्त्रीसँग जादूवाला नम्बर छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : बर्तौला
काठमाडौँ । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कमाण्डमा देश अघि बढ्ने बताएका छन् ।
आज (आइतबार) संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीलाई नटेर्ने भन्ने कुरा नहुने बताए । उनले प्रधानमन्त्री अहिले सबै किसिमले बलियो रहेको भन्दै प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका राजनीतिक दलहरूको रहेको बताए । उनले पहिलो दल प्रतिपक्षमा र तेस्रो दलले सत्ता चलाइरहेको अवस्थालाई लिएर आफ्नो संख्या जादूवाला हो भन्नुलाई अस्वाभाविक रुपमा लिन नसकिने बताए ।
उनले भने, ‘पहिलो दल प्रतिपक्षमा छ, तेस्रो दलले सरकारको नेतृत्व गरिहरेको छ । त्यस हिसाबले उहाँले र उहाँको पार्टीलाई हाम्रो दलको संख्या जादू नम्बरवाला हो भन्ने लाग्ने कुरालाई अस्वाभाविक मान्न सकिँदैन । यो सरकार पाँच वर्ष जान्छ । कसैले भत्काउन सक्दैन । भत्काउन नसक्ने गरी छ । तेस्रो दल भएर पनि सरकारको नेतृत्वमा पुग्नेगरी अवस्था जुन बन्यो, त्यो उहाँले राख्नुभएको कुरामा कतै न कतै सत्यता होला । नेकपा एमाले वा सत्ता घटक दलका कोही पनि मान्यज्यूहरुले प्रधानमन्त्रीलाई अटेर गर्ने भन्ने कुरा हुँदैन, प्रधानमन्त्रीको कमाण्डमा देश अघि बढ्छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, प्रधानमन्त्रीलाई बलियो बनाउने जिम्मेवारी सरकारमा रहेका हामी दलहरूको हो । सरकारले राम्रो काम गर्नेगरी अघि बढाइरहेको छ ।’ उनले सरकारले राम्रोसँग काम गरिरहेकाले नेपाली काँग्रेसले विचलित हुन लागेको बताए ।